राजनीतिक समाचार बिस्तारमा >>
विदाई प्रक्रिया सम्पन्न
२५ माघ, लिवाङ । अनमिनले अयोग्य ठहर्याएका माओवादीका जनसेनाको विदाई प्रक्रिया सम्पन्न भएको छ । गत पुस २३ गतेदेखि सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनबाट सुरु भएको विदाई प्रक्रिया आज रोल्पाको दहवनस्थित पाँचौ डिभिजनमा पुगेर सम्पन्न भएको हो ।
पाँचौ डिभिजन मुख्यालय दहवनसहित सहायक शिविरहरु गैरीगाउँको टिला, मसिनाको उँघा, होलेरीको खस्रे र दाङको सङ्ग्राम गरी ४ सय ५१ जना अयोग्य ठहरिएकामध्ये आज २ सय ६८ जनालाई बिदाई गरिएको छ । बाँकीले यसअघि नै शिविर छोडिसकेको पाँचौ डिभिजन मुख्यालयले जनाएको छ ।पाँचौ डिभिजनमा अयोग्य ठहरिएका जनसेनालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फूलमाला र टिका लगाइदिएर विदाइ गर्नुभएको हो ।
बहिर्गमन शान्ति प्रकृयाको अर्को बिजय : प्रचण्ड
विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बहिर्गमन शान्ति प्रकृयाको अर्को बिजय भएको धारणा राख्नुभयो ।माओवादी शान्ति र संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको दोहोर्याउँदै बिदाईले आफूहरुको प्रतिवद्धतालाई पुष्टि गरेको बताउनुभयो । उहाँले माओवादीले शान्ति संझौताको अक्षरशः पालना गरेको स्पष्ट पार्नुभयो ।
शान्ति प्रक्रियामा सहयोग गर्ने सबै पक्षलाई माओवादीका तर्फबाट धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले संविधान निर्माणमा माओवादीको प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले शिविरमा नरहँदैमा कोही अयोग्य र रहँदैमा योग्य नहुने भन्दै राष्ट्र र जनताप्रति समर्पित कोही कहिल्यै अयोग्य नहुने बताउनुभयो ।
विदाइ भएका जनसेनाले अनमिनको प्रमाणिकरणप्रति असन्तुष्टि जनाउँदै प्रमाणिकरणलाई धोकापूर्ण र आफ्नो जिवनमा चोट पुर्याउने खालको भएको बताएका छन् ।
विदाई कार्यक्रममा अध्यक्ष प्रचण्डका साथै नेपालस्थित राष्ट्रसंघीय नियोग (अनमिन) प्रमुख करिन ल्यानग्रेन, माओवादी स्थायी समिति सदस्य बर्षमान पुन 'अनन्त', जनमुक्ति सेना नेपालका प्रमुख नन्दकिशोर पुन 'पाशाङ', डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल 'बलदेव' तथा चीन, जापान, बेलायत र नर्वेका राजदूतहरु पनि सहभागी हुनुहुन्थ्यो ।
Total Comments :0
|