राजनीतिक समाचार बिस्तारमा >>
आफ्ना सर्तमा सहमति जनाउन एमालेद्वारा माओवादीलाई आग्रह
१९ फागुन, काठमाडौं । नेकपा एमालेले राजनीतिक गतिरोध अन्त्यका लागि आफूले प्रस्ताव गरेको कार्यदिशामा सहमति जनाउन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेको छ । बुधबार विहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई उहाँकै निबास नयाँबजारमा भेटगरी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि आफूहरुले राखेको प्रस्तावमा सहमति जनाउन आग्रह गर्नुभएको हो ।
एमालेको हालै सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रिय सहमतिका लागि माओवादी नागरिक दलमा रुपान्तरण हुनुपर्नेलगायत आधादर्जन सर्त अघि सारेको थियो ।
झण्डै आधा घण्टा लामो भेटमा एमाले अध्यक्ष खनालले आफ्ना सर्तमा माओवादीले सहमति जनाए एमाले नेतृत्वको सरकारको सट्टा राष्ट्रिय सरकार गठन गर्न तयार रहेको जानकारी गराउनुभएको थियो । उहाँहरुबीच राजनीतिक गतिरोध अन्त्य, सेना समायोजनलगायत विषयमा पनि छलफल भएको थियो ।
प्रचण्ड-ल्यानग्रेन भेट
संयुक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले पनि बुधबार विहान अध्यक्ष प्रचण्डलाई उहाँकै निबास नयाँबजारमा भेट गर्नुभएको छ । भेटमा सेना समायोजन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने बिषयमा छलफल भएको थियो ।
Total Comments :0
|