राजनीतिक समाचार बिस्तारमा >>
सेना समायोजनसम्बन्धी माओवादीका चार मोडालिटी
१ असार, काठमाडौं । सेना समायोजनका विषयमा अन्य दलहरुसँग मतभेद जारी रहँदा एकीकृत नेकपा माओवादीले चार मोडालिटीमा आधारित रहेर समायोजनको प्रस्ताव तयार पारेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कति जनसेना समायोजन गर्ने भन्ने पहिलो आधार हुनेछ । जनसेनाको संलग्नतामा औद्योगिक सुरक्षा बल बनाउने अर्को मोडालिटी छ । माओवादीले सबै जनसेनालाई भिन्दै राखेर छुट्टै फोर्सको मान्यता दिने मोडालिटी पनि तयार गरेको छ ।
चौथो मोडालिटीमा आर्थिक प्याकेजसहित घर जान चाहनेलाई 'गोल्डेन ह्यान्डसेक'का रुपमा एकमुष्ट रकम दिने र बाँकी रहने जनसेनाको जति संख्या हुन्छ त्यत्तिकै संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या मिलाएर चौथो फोर्सको मान्यता दिने अवधारणा ल्याइएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तयार पारेका यी अवधारणामाथि पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबारदेखि सुरु हुने पोलिटव्युरो बैठकमा छलफल हुनेछ । छलफलपछि माओवादीले शान्तिप्रक्रियाको महत्वपूर्ण पाटो सेना समोजनको आधिकारीक अवधारणा तय गर्नेछ ।
स्थायी समिति बैठकले सेना समायोजनको मोडालिटी, शान्तिप्रक्रियासँग जोडिएका विषय, नयाँ राष्ट्रिय सरकारमा माओवादीको स्थान र भावी रणनीतिलगायतका विषय समेटिएको प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो ।
पोलिट्व्युरो बैठकमा शान्तिप्रक्रिया र राष्ट्रिय सरकार गठनबारे छलफल हुने माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन नसके प्रतिपक्षमै बस्नुपर्ने अधिकांश माओवादी नेताहरुको जोड छ ।
Total Comments :0
|