खेलकुद समाचार बिस्तारमा >>
म्याराथनमा राजेन्द्रले दिलाए आठौं स्वर्ण
२६ माघ, काठमाडौं । बंगलादेशमा जारी ११ औं दक्षिण एशीयाली खेलकुद सागमा नेपालले मंगलबार विहान थप एक स्वर्ण जितेको छ । ४२ किलोमिटर म्याराथनमा राजेन्द्र भण्डारीले स्वर्ण जितेका हुन् । योसँगै नेपालको स्वर्ण संख्या ८ पुगेको छ । म्याराथनमा श्रीलंका दोस्रो र भारत तेस्रो भए । नेपालकै अर्जुन बस्नेतले चौथो स्थान हासिल गरे । जितपछि भण्डारीले आफूमाथि लागेको दाग मेटेको प्रतिक्रिया दिए । कोलम्बोमा आयोजित १० औं सागमा भण्डारीले म्याराथनमा जितेको २ स्वर्ण डोपिङ प्रकरणमा असफल भएपछि खोसिएको थियो ।
आठ स्वर्णसहित ३५ पदक जितेको नेपाल पदक तालिकामा पाँचौ स्थानमा रहेको छ । देशबाहिर भएको सागमा नेपालले यतिधेरै पदक जितेको यो पहिलो हो । यसअघि नेपालमा आयोजित आठौं दक्षिण एशीयाली खेलकुदमा नेपालले सात स्वर्ण जितेको थियो ।
भारत पहिलो, मालदिभ्स अन्तिम
७९ स्वर्ण जितेको भारत १५३ पदकसहित अग्रस्थानमा छ । टेबल टेनिसका केही खेल बाँकी रहँदा पाकिस्तान १८ स्वर्णसहित ७७ पदकका साथ दोस्रो र आयोजक बंगलादेश १७ स्वर्णसहित ९० पदकका साथ तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी चौथो स्थानमा रहेको श्रीलंकाले १४ स्वर्णसहित ८९ पदक जितेको छ । ७ स्वर्णसहित ३१ पदकका साथ अफगानिस्तान छैठौं र भुटान २ रजत र ३ कास्य सहित सातौं स्थानमा रहेको छ । अन्तिम स्थानमा रहेको मालदिभ्सले एक मात्र काश्य जितेको छ ।
सागको ११ औं संस्करण सम्पन्न हुँदै
सागको ११ औं संस्करण मंगलबार सम्पन्न हुँदैछ । नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे ढाकाको बंगबन्धु रंगशालामा विशेष समारोहबीच सागको ११ औं संस्करणको समापन गरिनेछ । सागको १२ औं संस्करण दुई वर्षपछि भारतमा आयोजना हुनेछ ।
Total Comments :0
|